गण्डकी प्रदेशका नागरिकहरूको शिक्षा, संस्कृति, युवा, खेलकुद, श्रम, रोजगार तथा सामाजिक विकासका क्षेत्रमा आवश्यक कानुन, नीति र मापदण्ड निर्माण एवं कार्यक्रम कार्यान्वयनमार्फत समग्र सामाजिक क्षेत्रको विकास गर्नु यस मन्त्रालयको मूल उद्देश्य हो। यसबाट स्वस्थ, शिक्षित, सक्षम र उद्यमशील नागरिक तयार गरी प्रदेशको समग्र विकास र समृद्ध प्रदेश निर्माणमा योगदान पुर्याउने लक्ष्य राखिएको छ। आगामी दिनमा मन्त्रालयले आफ्नो कामलाई सूचना प्रविधिको माध्यमबाट निष्पक्ष, मितव्ययी, पारदर्शी, चुस्त र छरितोरुपमा सम्पादन गरी समृद्ध प्रदेश बनाउने कार्यक्रममा योगदान गर्नेछ । मुख्य लक्ष्यहरू: प्राविधिक तथा व्यावसायिक शिक्षा: प्राविधिक शिक्षामा जोड दिँदै प्रदेशका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने र शैक्षिक बेरोजगारी घटाउने। स्वरोजगार र रोजगारी सिर्जना: नयाँ रोजगारी तथा स्वरोजगारका अवसरहरू सिर्जना गरी श्रम शोषणरहित समाजको स्थापना गर्ने। सभ्य र सुरक्षित समाज: हिंसा तथा विभेदरहित सुरक्षित समाजको निर्माण गर्ने। सीमान्तकृत वर्गको संरक्षण: सीमान्तकृत, अल्पसंख्यक तथा लक्षित वर्गका नागरिकहरूको हक-हितको संरक्षण र सशक्तिकरण गर्ने। संस्कृति र सम्पदाको जगेर्ना: प्रदेशभित्रका भाषा, धर्म, संस्कृति र पुरातात्विक सम्पदाको संरक्षण, संवर्द्धन तथा अभिलेखीकरण गर्ने। युवा परिचालन: युवा शक्तिलाई प्रदेशको विकास र रूपान्तरणमा सक्रियतापूर्वक परिचालन गर्ने। खेलकुदको विकास: खेलकुद सम्बन्धी नीति नियम निर्माण गरी खेलकुद क्षेत्रको पूर्वाधार र खेलाडीको सर्वाङ्गीण विकास गर्ने।